Creation Science Information & Links!
भजनसंग्रह 1, 51, 100 & 150
Psalms 1 • 51 • 100 • 150 - in Nepalese
(Psalm) भजनसंग्रह 1

यदि उसले दुष्ट मानिसको सल्लाह मान्दैन, पापीहरूको जस्तो जीवन बिताउँदैन, अनि जसले परमेश्वरलाई श्रद्धा नगर्ने मानिसहरूलाई मन पराउँदैन त्यो मानिस साँच्चै नै सुखी हुनेछ। धार्मिक मानिसले परमप्रभुको शिक्षा मन पराउँछ। ऊ परमप्रभुको शिक्षाहरूको विषयमा रात-दिन सोचिरहन्छ। यसकारण त्यो मानिस खोलाको पानीले सिंचेको रूख जस्तै बलियो हुन्छ ऊ ठीक समयमा फल दिने रूख सरह हो। ऊ पातहरू भएको रूख जस्तै हो जो मर्दैन उसले गरेको प्रत्येक काममा ऊ सफल हुन्छ। तर दुष्ट मानिसहरू त्यस्ता हुँदैनन्। दुष्ट मानिसहरूलाई भूसलाई जस्तै हावाले उडाई लान्छ। यदि सबै धर्मी मानिसहरू अदालतको मुद्दा निर्णय गर्न भेला हुन्छन्, तब दुष्ट मानिसहरू दोषी प्रमाणित हुनेछन्। ती पापीहरूलाई निर्दोष भनेर न्याय गरिने छैन। किनभने परमप्रभुले धर्मी मानिसहरूको रक्षा गर्नुहुन्छ, तर दुष्ट मानिसहरूलाई नष्ट गर्नुहुन्छ।
 

(Psalm) भजनसंग्रह 51

हे परमेश्वर, मतर्फ कृपालु हुनुहोस्, किनभने तपाईंको दयालु कृपा-दृष्टिले, तपाईंको महान् अनुग्रहले मेरा सारा पापहरू मेटाई दिनुहोस्। परमेश्वर मेरो दोष धोएर मेटाई दिनुहोस्। मेरा पापहरू धोइ-पखाली दिनुहोस्, मलाई फेरि एकपल्ट शुद्ध पारिदिनुहोस्। म जान्दछु मैले पाप गरें। म सधैँ ती पापहरू देख्दछु। हे परमेश्वर, जुन तपाईंले गल्ती भन्नुभयो मैले त्यही कुरा गरें। परमेश्वर, तपाईंको विरूद्धमा मात्र मैले पाप गरें म ती गल्तीहरू स्वीकार गर्दछु, ताकि मानिसहरूले जानुन म गलत छु, र तपाईं साँच्चो हुनुहुन्छ। तपाईंको निर्णयहरू निष्कपट छन्। पापमा नै मेरी आमाले मलाई गर्भधारण गरिन् अनि म पापमा नै जन्मेको थिएँ। हे परमेश्वर, तपाईंले मलाई साँच्चो रूपमा विश्वासी भएको देख्न चाहनु हुन्छ, यसैले साँचो ज्ञान मेरो अन्तस्करणमा हाली दिनुहोस्। विधिपूर्वक हिसप झारले मस्काएर मलाई शुद्ध पार्नुहोस्। जबसम्म म हिऊँ जस्तो सेतो हुन्न तबसम्म मलाई धोइ पखाल्नुहोस्। मलाई खुशी पार्नुहोस्। बताउनुहोस् फेरि खुशी कसरी हुनु। तपाईंले धूलो-पिठो पार्नु भएको हड्डीहरू फेरि आनन्दले नाचोस्। मेरो पापहरू तपाईं नहेर्नु होस्! ती सबै मेटी दिनुहोस्! हे परमेश्वर, शुद्ध हृदय मभित्र सृजना गरिदिनु होस्! मेरो आत्मा फेरि एकपल्ट बलियो पारी दिनुहोस्। मलाई नठेल्नु होस्। अनि मदेखि तपाईंको पवित्र आत्मा टाढा नलैजानु होस्! तपाईंको सहयोगले मलाई खुशी पार्दछ। मलाई फेरि एकपल्ट त्यो आनन्द दिनुहोस्। मेरो आत्मा बलियो पारी दिनुहोस् र तपाईंको आज्ञा पालन गर्न तयार होस्। म पापीहरूलाई तपाईंको चाहना अनुसार कसरी बाँच्नु भनेर सिकाउने छु अनि तिनीहरू फर्केर तपाईं कहाँ आउने छन्। हे परमेश्वर, मृत्यु दण्ड देखि मलाई बचाउँनु होस्। तपाईंको धार्मिकताको विषयमा, मलाई गीत गाउन दिनुहोस्। हे मेरो स्वामी, म मेरो मुख खोल्नेछु र तपाईंको प्रशंसा-गीत गाउने छु! तपाईं वास्तवमा बलिहरू चाहनु हुन्न्, यसकारण मैले किन बलिहरू चढाउनु। जुन बलि परमेश्वरले चाहनु हुन्छ त्यो विनम्र आत्मा हो। हे परमेश्वर, जो-जो विनम्र अनि समर्पित हृदय लिएर आउँदछन्, तपाईं उनीहरू देखि मुख फर्काउनु हुन्न! हे परमेश्वर, सियोन प्रति कल्याणकारी बन्नु होस्। यरूशलेमको पर्खालहरू पुनःर्निर्माण गर्नुहोस्। तब तपाईंले धार्मिकताको बलिदान, र होमबलिहरूको आनन्द लिन सक्नु हुन्छ। अनि मानिसहरूले फेरि साँढेहरू तपाईंको वेदीमा चढाउने छन्।
 

(Psalm) भजनसंग्रह 100

हे सारा पृथ्वीको मानिसहरू हो, परमप्रभुको जयजयकार गर। परमप्रभुको सेवामा खुशी हौ! खुशीका गीतहरू लिएर परमप्रभुको सम्मुख आऊ! परमप्रभु नै हाम्रा परमेश्वर हुनुहुन्छ भन्ने जान। उहाँले हामीलाई बनाउनु भयो। हामी उहाँका मानिसहरू हौं, अनि हामी उहाँका खर्कका भेंडाहरू हौं। उहाँको शहरमा धन्यवादको गीत लिएर आऊ। उहाँको मन्दिरमा प्रशंसाको गीतहरू लिएर आऊ। उहाँको प्रशंसा गर र उहाँको नाउँलाई धन्यवाद चढाओ। परमप्रभु, भलो हुनुहुन्छ। उहाँको प्रेम अनन्त छ। हामी सदा सदा-सर्वदा उहाँमाथि भरोसा राख्न सक्छौं!
 

(Psalm) भजनसंग्रह 150

परमप्रभुको प्रशंसा गर! परमप्रभुलाई उहाँको मन्दिरमा प्रशंसा गर! उहाँको शक्तिको स्वर्गमा प्रशंसा गर! परमप्रभुले गर्नु भएको महान् कार्यहरूका निम्ति उहाँको प्रशंसा गर। उहाँको सारा महानता अनुसार, उहाँको प्रशंसा गर! नरसिंङ्गा र तुरही फुकेर परमेश्वरको प्रशंसा गर! वीणाहरू बजाएर उहाँको प्रशंसा गर। खैंजडीहरू बजाउँदै नाच्दै परमेश्वरको प्रशंसा गर। तारहरूले बनिएको वादनद्वारा उहाँको प्रशंसा गर। बाँसुरीहरू बजाएर उहाँको प्रशंसा गर! झ्यालीहरू जोड-जोडले बजाएर परमेश्वरको प्रशंसा गर! झ्यालीहरूको गर्जनपूर्ण आवाजले उहाँको प्रशंसा गर! प्रत्येक जीवित प्राणीले उहाँको प्रशंसा गर। परमप्रभुको प्रशंसा गर!
 


Psalms 1 • 51 • 100 • 150 · नेपाली; Nepali; Nepalese; Gorkhali
http://www.creationism.org/nepali/saPs1_51_100_ne.htm

Main:  Nepalese
www.creationism.org